दफा २१
थुनुवा वा कैदीले बिन्तिपत्र, दरखास्त इत्यादि दिंदाको कार्य प्रणाली

(१) कुनै थुनुवा वा कैदीले कुनै मुद्दा मामिलाका सम्बन्धमा कुनै अड्डा वा अदालतमा दिनुपर्ने कुनै फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, बिन्तिपत्र, दरखास्त जनाउ इत्यादि सो अड्डा वा अदालतमा दाखिल गर्नलाई आफू थुनिए वा कैद परेको कारागार कार्यालयमा दाखिल
गरेमा सो कार्यालयले म्याद भित्रको भए निजको सहिछाप गराई प्रचलित नेपाल कानुनले दस्तूर लाग्नेमा दस्तूर समेत बुझी लिई त्यस्को निस्सा दिई कागज दस्तूर दाखिल गरेको मिति समेत लेखी जुन अड्डा वा अदालतमा पठाउनु पर्ने हो सो अड्डा वा अदालतमा चलानीसाथ तीन दिन भित्र पठाई दिनुपर्छ ।

(२) उपदफा (१) बमोजिम कारागार कार्यालयबाट चलान भै आएको कागजपत्र सम्बन्धित अड्डा वा अदालतले बुझी लिई प्रचलित नेपाल कानुन बमोजिम गर्नुपर्छ ।

(३) थुनुवा वा कैदीले आफू थुनिएको वा कैद परेका कारागारमा म्याद तारिख भित्रै उपदफा (१) मा लेखिएको कागज दस्तूर बुझाएकोमा म्याद तारीख जान सक्तैन ।